कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४ सय ४३

७१ जना निको भए

सुर्खेत, कर्णाली प्रदेशमा आज १६ जना कोरोना संक्रमण थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका आठ, दैलेखका तीन, डोल्पा र कालिकोटका दुई/दुई र बाँकेका एक जना संक्रमण पुष्टि भएको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ का ६, वडा नम्बर ३ र ९ का एक/एक जना छन्।

दैलेखेको दुल्लु नगरपालिका वडा नम्बर ७ का दुई, वडा नम्बर ८ मा एक, डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ का दुई र कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर २ का दुई जना छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय ४३ जना पुगेको छ ।

त्यस्तै, आज नै दैलेखको महावु आइसेलेसन सेन्टरबाट ५६, भैरवी आइसोलेसन सेन्टरबाट ५, प्रदेश अस्पताल, सुर्खेतबाट ९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना गरी कुल ७१ जना संक्रमणमुक्त भएका छन्।

योसँगै कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ७२ जना पुगेको मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।