आफैं जोकर बनेको त्यो दिन

कथा

कुरा ०५०/ ५१ साल तिरको हो । भोजपुर घर बताउने रमेश नाम गरेका एक जना साथि मेरो रूम पाट्नर थिए । जोरपाटी स्थित एभरेष्ट डाईङमा कामको चाप हमेसै हुने हुदा १५/१५ दिनमा काम गर्ने समय बदलिन्थ्यो । हामी दुबै जना रातिको समयमा काम गर्थ्यौं ।

करिव ५०/६० जनाको संख्यामा रहेका श्रमजीबि/कर्मचारीहरूलाई कम्पनिले नै बसोबासको ब्यबस्था मिलाएको र खाद्य सामग्री पनि मासिक तलब बाट भुक्तानी गरि सहजै लिन सकिने ब्यबस्था गरेकोले खानकै लागि खासै समस्या हुदैनथ्यो । प्राय: सबै एकै उमेर समह र लिंगका हुनाले हाँसि मजाक गर्दै काम गरिन्थ्यो । ख्याल ठट्टाले बोलाउने नामहरू कसैको मोटे, हात्ति, जगल्टे जस्ता नामहरू नै प्यारा हुन्थे ।

भोक जसलाई लाग्यो उसैले खाना बनाउन सुरू गर्नु पर्ने हुनाले प्राय: मलाई भोकै लाग्दैनथ्यो । त्यसैले रमेशलाई पाट्नर मनेर बोलाए पछि खुसी हुदै सबै काम उनैले गर्थे । राजेश हमालको नक्कल गरि पछाडी कपाल लामो र घुडामा मुजा गाँसेको जिन्स्पाईन्ट लगाएर । ७/८ जनाको समुहमा अघि अघि हिडिन्थ्यो, डुलिन्थ्यो । अन्याय चै कसैलाई पनि गरिएन तर समुहमा आबद्द हामीलाई हेप्नेहरू माथि चै थोरै थोरै जाई पनि लागियो । एउटालाई त चौकिमै थुनेर माफी मागेर मिलापत्र गरे पछि मात्र छोडेको नमिठो ईतिहाँस पनि छ, त्यहाँ, त्यो बेलाको ।

एक दिन बिहानको खाना खाएर हामी दुबै जना सुतेका थियौं । रातको खटाई शरिरलाई थकान लाग्ने किसिमको हुनाले रमेश छिट्टै निधाएछ । २२/२४ उमेरको रमेशको अनुहार रसिलो पोटिलो हुनाले मलाई उट्फट्याईं जागेर आयो । मैले उसको अनुहार भरी साईनपेनले दारी जुंगा कोरेर पुरै अनुहार बिरूप बनाई दिएं अनि के के न गरे झैं हौसिदै म पनि सुतें ।

दिउसो २ बजे तिर हामी दुबै जना निन्द्रा बाट ब्युझियौ । पैसा खर्च गर्न सधैं सचेत रहने रमेशले नै त्यो दिन चिया पिउन चिया पसल जान प्रस्ताव गर्यो । सामान्य हाँसि मजाक गरे पनि असर पुग्ने गरि मजाक गर्ने मेरो बानि थिएन र त्यो दिन पनि कोठामै मजाक गर्ने मेरो मनसाय थियो तर रमेशले कर गरे पछि उ आज राम्रै संगले जोकर हुने भयो भन्दै उसैलाई अघि लगाई चिया पसल तर्फ लागिम दुबै जना…. ।

हामीहरू आउदै गरेको देखेर चिया पसलका प्राय: चिनजानकै मानिसहरू हामि तिर फर्केर हास्न थाले । म मख्ख पर्दै रमेशलाई औलाउदै हास्न थालें । त्यो देखेर रमेश झनै उत्साहित हुदै म तर्फ फर्केर जोडले हाँस्न थाल्यो । उ म तिर फर्केर हास्ने अनि म रमेश तिर फर्केर हास्न थाले पछि त्यहाँ उपस्थित सबै छक्क परे । के हो यो के गरेको यस्तो ? भन्दै हास्न थाले । म सोच्दथें यो सबै रमेशको अनुहार देखेर हाँसि रहेका भनेर ..

सायद कसैले हाम्रो हाउभाउ र परिस्थितिको आकलन गरेर नै होला चिया पसलको ऐना मेरो हातमा थमाई दियो । त्यस पछि म त्यहाँ बस्नै सकिन । निलो कालो हुदै हतार हतार दौडेर कोठामा आएर मुख धोएं । त्यहि बेला रमेश पनि नानाथरी फलाक्दै कोठामा आई पुग्यो तर उसले चाहि उतै मुख धोएर आएको रहेछ । त्यस पछि हामि दुबै जना एक अर्का प्रति लज्जित हुदै JPT सबाल/जबाफ गर्दै फेरी उहि चिया पसलमा पुग्यौं ।

स्थिति सान्त भई सकेको भए पनि मुस्कान सहितका उपस्थित नजरहरू हामि माथि फोकसिई रहन्थे । किनभने त्यो दिन रमेशलाई पनि मलाई जस्तै चन्चले भाबनाले उत्साहित गराएको रहेछ । उसले आफु बिरूप भएको थाहा नै नपाई निन्द्राबाट ब्युझेर मेरो अनुहार भरि दारी जुंगाले बिरूप पारेको रहेछ , मलाई पनि पत्तै थिएन ।

एकले अर्कोलाई जोकर बनाउने दुषित मनशाय राख्दा पत्तै नपाई हामीहरू दुबै जना आफैं जोकर भयौं । सबैका सामु लज्जित भयौं । यसले मलाई जीबनमा ठुलो शिक्षा दिएको छ । रमेश आजकाल कहाँ छन ? के गर्छन  ? कुनै पत्तो छैन तर घटनाले उनलाई बेलाबेलामा सम्झाई रहन्छ । जहा भए पनि राम्रो होस ! सु समाचारको अपेक्षा ।

ओखलढुङ्गा
हाल बाफल-काठमाडौ