गढवा गाउँपालिकाको बजेट ५२ करोड १८ लाख २४ हजार

भालुवाङ, दाङकाे गढवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाको सातौ गाउँसभाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै अहिले देखिएको बेरोजगारी समस्याको हल गर्ने गरी सो बजेट ल्याएको हो । बुधबार आयोजित सातौं गाउँ सभामा उपाध्यक्ष शान्ती चौधरीले ५२ करोड १८ लाख २४ हजार बरावरको बजेट प्रस्तुत गरेकी हुन ।

शासनिक चालु खर्च तर्फ ९ करोड २९ लाख ७५ हजार, ससर्त खर्च २२ करोड २० लाख ५० हजार, बिशेष खर्च संघ–प्रदेश अन्तरगत एक करोड १० लाख, पुँजीगत खर्च १४ करोड ५७ लाख ९९ हजार, समपुरक कोष ३ करोड, कोरोना भाइरस रोकथाम प्रकोप नियन्त्रणको लागी दुई करोड, अधुरा योजना सम्पन्नको लागी २ करोड बजेट गरी कुल ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शहजराम यादवले ‘कृषि स्वास्थ्य र रोजगारी, कोभिड–१९ विरुद्धको खबरदारी’ भन्ने मुख्य नारा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । गाउँपालिकाले आउदो बर्ष कृषि, पशुपालन बाट रोजगारी सृजना गर्ने बिषयलाई प्राथमिकतामा राखेको छ । यसका साथै स्वास्थ्य, पूर्वाधार, शिक्षा, महिला तथा बालबालिका लगायतका क्षेत्रमा प्राथमिकता राखेर नीति तथा कार्यक्रम अघि सारेको छ ।

गाउँपालिका भित्र दुग्ध जन्य उद्योग स्थापना, सञ्चालन र व्यवस्थापन गरेर स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने नीति लिएको छ ।
कृषि योग्य जमिनको अव्यवस्थीत तथा गैर कानूनी खण्डिकरणलाई वन्देज गरिने, बाँझो जमिनलाई कृषि कार्यमा प्रयोग गर्न कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने, विदेशबाट आएका युवाहरुलाई व्यक्तिगत वा सामुहिक खेती गरेमा प्रदेश सरकार संग समन्वय गरेर अनुदान दिइने नीति लिइएको छ ।

आधारभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै गढवा स्वास्थ्य चौकीको स्तरबृद्धिको लागी पहल गर्ने, स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी स्थापना गरिने, गोवरडिहा स्वास्थ्य चौकीबाट एमविविएस डाक्टरबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउने नीतिमा उल्लेख छ ।त्यस्तै सवै वस्तीहरुमा एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने, कमजोर आर्थिक अवस्था भएका अति विपन्न परिवारका सुत्केरी आमाहरु, जटिल अवस्थाका कारण जिल्ला भित्र र अन्य अस्पतालमा पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ ।