काठमाडौं महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं  ,  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार राष्ट्रियसभा गृहमा नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन्। आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ। कुल बजेटको १ दशमलव ५ प्रतिशत हो।

प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ। कुल बजेटको १० दशमलव ८५ प्रतिशत हो। नगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ। बजेटको ५१ दशमलब ३४ प्रतिशत हो। सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ। जुन कुल बजेटको १५ दशमलव २२ प्रतिशत हो। त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।

जुन कुल बजेटको ५ दशमलव ८६ प्रतिशत हो। सशर्त अनुदानतर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ। जुन कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो। काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ। जसमध्ये अन्तरिक स्रोतबाट कुल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ। जुन कुल आम्दानीको ४१ प्रतिशत हो।

त्यसैगरी बाह्य स्रोततर्फ निःशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ।

जुन कूल आम्दानीको ३७ दशमलव ५० प्रतिशत हो। कुल आम्दानीमा नपुग हुने रकम रु ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ। कुल आम्दानीको २१ दशमलव ३० प्रतिशत हो। काठमाडौं महानगरपालिकाले गतआर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो।