साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे, यूएईबाट ५७५ फर्कंदै 

काठमाडाैँ, साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नं आरए २१९२ बाट १ नाबालकसहित २ सय ४७ जना नेपाली आज बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका अनुसार यो उडानमार्फत ६ महिनादेखि राजदूतावासको सेल्टरमा रहेका ४ सहित १२ महिला र बाँकी पुरुष स्वदेश फर्किएका छन् ।

यस्तै, आज यूएईबाट ३ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्किन लागेका बताइएको छ । त्यस्तै, आज कतारको दोहाबाट र मलेसियाबाट पनि समस्यामा परेका नेपाली फर्कन लागेका छन् ।

यूएईबाट ५ सय ७५ जना फर्कंदै

आइतबार यूएईबाट ३ वटा उडान हुँदै छ । यात्रु बोकेर अवुधावीबाट हिमालय एयरलाइन्स उडेको छ । १ सय ५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एयरलाइन्सको दोस्रो उडान हुनेछ ।

स्थानीय समयअनुसार बिहान ११ः१० मा नेपाल एयरलाइन्सको वाइड बडीमार्फत उडान हुने विमानस्थलले जनाएको छ । आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत २ सय ६६ जना नेपाली स्वदेश फर्किन लागेका छन् ।