साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज

काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उक्त विमानबाट साउदीमा वैदेशिक रोजगारीको शिलशिलामा निधन भएका एक नेपालीको शव पनि ल्याइएको उनले जानकारी दिए । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि हुने क्षेत्रीले जानकारी दिए ।

उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ जना प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । यस्तै आजै माल्दिभ्सबाट पनि १५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् । यस्तै यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् ।

उनीहरूलाई लिएर उडेको नेपाल एयरलाइन्सको विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

१४८ नेपाली बोकेर दुवईबाट उड्यो जहाज

संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान नेपालका लागि उडिसकेको छ । ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज काठमाडौंका लागि केहीबेर समयअघि उडेको हो । फर्किनेमध्ये १०१ महिला र ४७ जना पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिक समेत रहेका छन् । आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् ।

गर्भवतीमध्ये २७ जनाका श्रीमान पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान भेट्न यूएई पुगेकाहरु हुन् ।

आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिएकी छिन् ।

दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धारमा दूतावास लागि परेर काम गरिरहेको र त्यसको नतिजा आजको उडानबाट देखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् ।

नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३६० अमेरिकी डलर अर्थात झण्डै ४० हजार रुयैयाँ तिरेर टिकट काटेका छन् । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो ।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् ।

नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुनेछ । पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३–३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।