थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार ४ सय २ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय २ सय १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार नयाँ संक्रमितहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ७, बाग्लुङका १८, बैतडीका ६३, बझाङका ३, बाजुराका ८, डडेल्धुराका ९, धादिङकी एक, डोटीका१५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एक, मोरङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका ११, सप्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी गोरखाका ११, कैलालीका ४६, कास्कीका २, काठमाडौंका ३, मकवानपुरका ३, मोरङका एक, म्याग्दीका एक, नवलपरासी पुर्वका २, सिन्धुपाल्चोकका ११, तनहुँका १९, पर्वतका ५, उदयपुरका २, सिन्धुलीका एक र चितवनका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बैतडीका ५, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका ६, नवलपरासी पुर्वका २, स्याङ्जाका एक र बाग्लुङका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, स्याङ्जाका एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६, गुल्मीका ९४, कपिलवस्तुका ४, नवलपरासी पश्चिमका एक र रुपन्देहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एक, कैलालीका ३, कंचनपुरका २० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।