भेरी अस्पतालको अनियमिततामा अख्तियारको छानविन

अस्पताल भन्छ ‘हामी गलत छैनौं

नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले  बताए ।

सूचना अधिकारी पाण्डेका अनुसार बायो मेडिकल इक्वीपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबीनै खरिद गरी आर्थिक चलखेल तथा अनियमितता गरेको भन्दै भेरी अस्पतालविरूद्ध अख्तियारमा उजुरी परेकाे थियाे  ।

दुई दिनअघि दर्ता भएको उजुरीमा कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित टेण्डरबिनै खरिद गरेको उल्लेख गरिएको अख्तियारले जनाएको छ । उजुरी दर्ता भएपछि अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अख्तियारले ७ दिनको म्याद दिएर भेरी अस्पताललाई बायो मेडिकल इक्वीपमेन्ट कागजजात खरिद रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिदको प्रक्रियाका बारे स्पष्ट लिखित जवाफ पठाउन अख्तियारले बुधबार पत्राचार गरिसकेको छ ।

भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड माथिको मेडिकल उपकरण खरिद गरिएको छ । 

अस्पताल भन्छ ‘हामी गलत छैनौं

तर भेरी अस्पतालले भने  सामान्य सोधपुछ गरेको दाबी गरेकाे छ । भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले सामान्य सोधपुछ गरेको बताए ।

उनले भने, ‘हामी गलत छैनौं, उजुरी पर्दैमा आत्तिनुपर्दैन ।’