जलारी गाउँ

कविता

सारङ्गी पेट छाम्दै
एक हुल जलारी
माछाका भुराहरु समात्ने अभिलाषामा
छ्याप्प –छ्याप्प जाल हान्दै छन्
आफ्नै आँसुको बेगनासतालमा ।

आँगनमा ताल
पिँढीमा ताल
मझेरीमा ताल
तालैतालका जञ्जिरले जेलिएको
जलारी गाउँ ।

पीडाको बेगनासमा
माछा पाल्छ– जालले छेकेर
र आफ्ना सिँगाने भुराहरुले
लगौँटी समातेर भोक रुँदा
फरियाको फेरोमा झुण्डिएर
शोक चिच्याउँदा
माछाको भुरा समात्छन्
अनि सिँगान पुछिदिन्छन्
कत्ले रुमालले
आँसु पुछिदिन्छन्
झिँगे पछ्यौरीले ।

जलारी गाउँ
जाल खेल्दा खेल्दै
आफैं जालमा जेलिएको
पत्तै पाउँदैन
ऊ जाल खेलेर
दुनियाँलाई माछा खुवाउँछ
दुनियाँको उत्सवलाई
महोत्सव तुल्याउँछ
आफू भने
भोको आँखाको डिलबाट
सधैं आफ्नै आँसुको बेगनासमा
खस्ला–खस्ला झैँ 
टल्पलाइरहन्छ
ढल्मलाइरहन्छ ।

झुपडीहरुको चिसो चुल्होबाट
फाटेका वस्त्रहरुबाट
जलारी गाउँ
आफ्नो छातीमाथिको
सुकिलाहरुको मनोरञ्जक र उत्तेजक दृश्य
चियाउँछ, चियाइरहन्छ
स्वयम् मैलो
र उजाड बस्ती बनेर ।

पोखरा, [email protected]