सीमामा भारतीय नागरिकको ज्यादती : गोठालामाथि कुटपिट

भैंसी खोसेर लगे

कञ्चनपुर, नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैंसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैंसी भारतीय नागरिकले खोसेर लगेका छन् ।

सरदार समुदायका भारतीय नागरिकले भैंसी बाँध्ने डोरी र पगडी खोलेर उपाध्यायको हातखुट्टा बाँधेर भैँसी लगेका पीडितको भनाइ छ । उनीहरूले भारतमा भैंसी चराउन ल्याएको भन्दै वृद्धमाथि कुटपिट गरेका थिए । तर, उनीहरूले नेपाली भूमिमै भैंसी चराएका थिए ।

आफ्ना तीन र छिमेकीका दुईवटा भैंसी भारतीय नागरिकले लगेको उपाध्यायले बताए । भैंसी चराएर सोमबार साँझ घर फर्कने क्रममा तीन–चार जना भारतीय नागरिक आएर भैंसी लगेको उनले बताए । उनले भने, ‘हातमा डोरी थियो, त्यही डोरी खोसेर हात खुट्टा बाँधेर मलाई खोलामा फालिदिए । बुढो मान्छे हो, रातभरमा मरिहाल्छ भन्दै भैंसी लगे ।’

बाँधिएको हातखुट्टा आफैले खोलेर घर आएको उनले बताए । उनले भने, ‘स्थानीय अस्पतालमा उपचारपछि घरमै छु । उनीहरूले लगेकामध्ये दुईवटा भैंसी ब्याउने थिए । लाखौँका भैंसी लगे, भाग्यले बाँचें ।’

साँझ भैंसी विनै घर पुगेपछि घटना सार्वजनिक भएको थियो । स्थानीयले दोषी पहिचान गरेर कारबाहीको माग गरेका छन् । बेलडाँडी गाउँपालिका– ४ र ५ झिलमिला, वैवाह क्षेत्रका स्थानीय झिलमिलाफाँटामा वस्तुभाउ चराउन जान्छन् । यो नेपाली भूमिमा पहिल्यैदेखि किसानहरूले वस्तुभाउ चराउने, घाँस काट्ने गर्दै आएका छन् ।

घटनाबारे बेलडाँडी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लाई अवगत गराएको जनाएको छ । सशस्त्र प्रहरी बल बेलडाँडी बिओपीका इन्चार्ज योगेन्द्र भण्डारीले एसएसबीसँग घटनाबारे छलफल गरेर संलग्नहरूको खोजी भइरहेको बताए । उनले भने, ‘यस घटनाबारे भारतीय सुरक्षाकर्मी समेत चिन्तित छन्, उहाँहरूलाई घटनाका दोषी खोज्न र नेपाली किसानका भैंसी फिर्ता गर्न दबाब दिएका छौँ ।’ नयाँ पत्रिका दैनिकबाट