भारत-चीनबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु

नयाँ दिल्ली भारतीय सेनाले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ।

भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र शून्य डिग्रीभन्दा कम तापक्रम रहेको गलवान उपत्यकामा उनीहरूको मृत्यु भएको बताएको छ। यसअघि भारतीय सेनाले चीनसँगको झडपमा एक जना कर्नेल र दुई सैन्य जवानको मात्र मृत्यु भएको बताएको थियो।

भारतीय सेनाले मंगलबार राती मात्र २० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो। साथै उसले भारत र चीनका सेनाबीच झड बन्द भएको जनाउ पनि दिएको छ।

वक्तव्यमा भनिएको छ, “भारतीय र चिनियाँ सैनिकहरुबीच गलवान इलाकामा संघर्ष विराम भएको छ, जहाँ दुबै पक्षबीच १५१६ जुनको रातमा भिडन्त भएको थियो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको हो ।”

मंगलबार दिँउसो भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा एक वरिष्ठ सैनिक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो ।

चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन । तर, केही भारतीय सञ्‍चारमाध्यमका अनुसार ४३ जना हताहत भएको जनाइएको छ ।

चीनले भने यस विषयमा कुनै औपचारिक तथ्यांक सार्वजनिक गरेको छैन । यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले भारतीय सेनाहरु चिनियाँ क्षेत्रमा प्रवेश गरेर आफ्ना सेनामाथि आक्रमण गर्न थालेपछि प्रतिकार गरेको बताएका थिए ।