आजै कुवेतबाट काठमाडौ आइपुगे डेढ सय नेपाली

बंगलादेश, थाइल्याण्ड र सिङ्गापुरबाट ६ सय बढी फर्किदै

काठमाडौं, कुवेतमा आममाफीमा सहभागी थप एक सय ५० नेपाली महिला आज (बुधबार) काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकार आफैंले काठमाडौ ल्याई दिएको छ । कुवेतले जजिरा एअरमार्फत आममाफीमा सहभागी नेपालीलाई स्वदेश ल्याई दिइरहेको हो । यसअघि तीन उडानमार्फत ४४८ जना कुवेतबाट नेपाल आइसकेका छन् ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याई दिएको छ । कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो ।

नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याई दिने भएको छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको छ । खाद्यान्नसहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका दुई ९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।
फर्काएका नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । तर आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाडौमा पनि क्वारेन्टिन व्यवस्था गरेको छ ।

आजै बंगलादेश, थाइल्याण्ड र सिङ्गापुरबाट ६ सय बढी नेपाली स्वदेश फर्किदै

यसैबीच बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश नेपाली आजै फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । सिङ्गापुरबाट कति नेपाली फर्कन्छन् भन्ने विवरण आइनसकेको उनले बताएका छन् । १५० जना फर्कन सक्ने जानकारी आएको उनी बताउँछन् ।

सरकारले विभिन्न ३० देशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । कुवेतबाट भने त्यहाँ आममाफी सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले नेपालसम्म निःशुल्क ल्याई दिएको हो ।

यसअघि पनि ४४९ जना कुवेतबाट फर्किसकेका छन् भने बंगलादेशबाट गएको शुक्रबार २५८ जना नेपाल फर्केका छन् । यस्तै मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, यूएईबाट १६९ जना, जापानबाट १३ जना , अस्ट्रेलियाबाट ११ जना, अफगानिस्थानबाट १८ जना र असार १ गते ओमानबाट १६६ नेपालीहरु स्वदेश फर्किएका छन् ।