सिर्जनामा- भुजङ्गप्रयात

फलाएर धर्ती तथा अन्तरीक्ष
रमेको छ चैतन्यको कल्पवृक्ष
रची सृष्टि सारा बनी दूर द्रष्टा
त्यही मोज आनन्दमा बस्छ स्रष्टा । 

*

कहाँ मान्दथ्यो चित्त निष्पन्द हेरी
कदाचित् उही नाच्छ आएर फेरि
उही राम या कृष्णको स्वाङ पारी
स्वयं फूल , माली , स्वयं फूलबारी ।

*

छचल्की छचल्की घडा सिर्जनाका
भिजाऊन् रुझाउन् गरा भीरपाखा
उही विन्दुको सिन्धु भै ज्यून पाए
कहाँ तृप्ति होस् तन्तनी प्यून पाए ।

*

सबै वृक्षमा जिन्दगी फल्न छाडे
धराले यसै फूल कोरल्न छाडे
उजाडिन्छ आकाश धर्ती अवश्य
कहाँ फुल्छ या फल्छ मेरो भविष्य ।

*

फलाएर आकाशले लाख तारा
गरेझैँ छ मानौँ मलाई इशारा
यही जान , बस् यत्ति नै मान भाइ
बितोस् जिन्दगी सिर्जनामा रमाई ।

*