जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

जुम्ला ,  जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो।

जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्र्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

ट्र्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ। घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन्। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। ट्र्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन्।