चिनियाँ सेनासँगको झडपमा ३४ भारतीय सैनिक भीरबाट खसेको आशंका

४५ वर्षपछि भिडन्तमा चीन-भारत

एजेन्सी, चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा ३४ भारतीय सैनिक भीरबाट खसेको आशंका गरिएको छ ।  

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराएको छैन।

यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ।

चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ। लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ।

४५ वर्षपछि भारत–चीन भिडन्तमा

४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ । आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप भइरहे पनि ज्यानै जाने गरी भिडन्त भएको थिएन । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो भिडन्त हो ।

सीमामा झडप रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो । भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो सीमाका धेरै ठाउँमा सीमाविवाद र एक अर्काको दाबी छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो । सीमानाका धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोलकै टुंगो नलागेकोले दुई देशले सीमा क्षेत्रलाई आआफ्नो दाबी गर्दै आएका छन् ।