कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

बाँकेमा मृत्यु हुनेको संख्या २

नेपालगन्ज,  बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे । 

महिलाकाे उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको  स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार  मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । महिलाकाे ‘मंगलबार राती आठ बजेमात्र रिपोर्ट आएको थियो । शवको व्यवस्थापन बुधबार मात्र हुनेछ ।’

कोरोना संक्रमित महिलाको शवंलाई अहिले अस्पतालको शव गृहमा राखिएको बताइएकाे छ ।

यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।