देश दुखेको बेला !

कविता

कहाँ सहन सकिन्छ र ?
त्यो दमन,षड्यन्त्रलाई,
तस्कर,भ्रष्ट घुस्याहाले
ब्रम्हलुट मच्चाएको बेला
त्यो बेला मलाई आम्दानी नदेउ,
यहाँ देश दुखेको बेला !

कहाँ रोक्न सकिन्छ र ?
त्यो आँधीको वेगलाई,
वर्गमुक्तीको रापले
दुश्मनको मुटु जलेको बेला
त्यो बेला मलाई छहारी नदेउ,
यहाँ देश दुखेको बेला !

कहाँ झुक्न सकिन्छ र ?
तिनै वर्ग वैरी सङ्ग
वर्गमुक्तिको तिर्खाले,
घाँटी सुकेको बेला,
त्यो बेला मलाई पानी नदेउ,
यहाँ देश दुखेको बेला !

कहाँ भुल्न सकिन्छ र ?
त्यो धोका,गद्दारीलाई
जनताको आन्दोलनले,
फेरि जग उठाएको बेला
त्यो बेला मलाइ आश्वासन नदेउ
यहाँ देश दुखेको बेला !,

कहाँ हेर्न सकिन्छ र ?
त्यो सिमाना,पिल्लरलाई,
देशभक्ती भावहरुले
मनमुटु हल्लाएको बेला
त्यो बेला मलाई राहदानी नदेउ,
यहाँ देश दुखेको बेला !

कहाँ छल्न सकिन्छ र ?
आजका सचेत युवाहरूलाई ,
कल्पवृक्ष सपनाले
विष फलाएको बेला
त्यो बेला मलाई कहानी नदेउ,
यहाँ देश दुखेको बेला !