भारतीय रक्षामन्त्रीले भने नेपाल-भारत रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन

काठमाडौं,  नेपाली भूमि मिचेर लिपुलेकमा निर्माण गरिएको चीन जोड्ने मानसरोवर सडक उद्घाटन गरेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको रोटी–बेटीको सम्बन्ध कसैले तोड्न नसक्ने बताएका छन् । रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने स्पष्ट पारेका छन् ।

भारतको उत्तराखण्डको जन-संवाद भर्चुअल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, “नेपाल-भारत सम्बन्ध साधारण होइन, हामी रोटी-बेटीको सम्बन्धमा बाँधिएका छौं । विश्वको कुनै पनि शक्तिले हामीलाई अलग गर्न सक्दैन ।” 

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले उनले भने, ‘लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिने छ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताएका छन् ।

उनले थपे, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भारतीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र संवादमार्फत नै गर्नेछौं ।’