कर्णाली सरकारले ६० प्रतिशत फजुल खर्च घटाउने

एम्बुलेन्सबाहेक सवारीसाधन नकिन्ने

सुर्खेत, कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका हुन् ।

स्रोतको संकुचनलाई मध्यनजर गरी आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर, अत्यावश्यक बाहेकका गोष्ठी सेमिनार लगायतका खर्चमा पनि कटौती गरेको मन्त्री ज्वालाले बताएका छन् ।

साथै प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा एम्बुलेन्सबाहेकका सवारीसाधन खरिद नगर्ने भएको छ। प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  ज्वालाले कोरोना भाइरसबाट सिर्जित जटिल परिस्थितिको सामना गर्न एम्बुलेन्स बाहेकका कुनै पनि सवारीसाधन खरिद नगर्ने घोषणा गरेका हुन्।

त्यस्तै प्रदेशका मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता पूर्ण रुपमा खारेज गरिएको छ।

आर्थिक मितव्ययिता अपनाउन कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचरलगायत खर्चमा करिब ६० प्रतिशत कटौती गरिने मन्त्री ज्वालाले बताए।