कर्णालीमा थप ११० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ हजार ७७

काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णालीमा संक्रमितको संख्या एक हजार ७७ पुगेको छ । जसमा १५१ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यसैबीच कर्णाली प्रदेशमा कोरोना निको हुनेको संख्या १५१ पुगेको छ। आज कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना लेकबेसी आइसोलेसन सेन्टरबाट ९ जना गरी कूल ५७ जना संक्रमित निको भएसँगै निको हुनेको कूल संख्या १५१ पुगेको हो ।