पानी नबग्ने कुलोमा करोडौँ रूपियाँ बग्दै !

काठमाडौँ, सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ डिभिजन कार्यालय बैतडीमा भीड लाग्न थालेको छ । रकम भुक्तानी गर्न नेताको दबाब आउन थालेपछि स्थलगत निरीक्षण गर्दा ३० वटा कुलो पानी बग्ने स्तरको नभएको पाइएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा पानी नै नबग्ने कुला बनेको कार्यालयले जनाएको छ । डिलासैनी गाउँपालिका–३ को महादेव बगड सिँचाइ योजना, सिमार खेत सिँचाइ योजना, ममरोडा सिँचाइ योजना, नौगाउँ सिँचाइ योजना, कन्देखोला सिँचाइ योजना, बगडी सिँचाइ योजना र कप्से सिँचाइ योजना, डिलासैनी–५ को शेराखेत र रज्यौडा सिँचाइ योजना, डिलासैनी–२ कै सेला सिँचाइ योजना र कल्ते खडखेत सिँचाइ योजनाको कुलो काम नलाग्ने बनेको पाइएको छ ।

त्यसैगरी सुर्नया गाउँपालिका–३ को खालीगैर सिँचाइ योजना र ४ को डोडेश्वर सिँचाइ योजना, पाटन नगरपालिका–९ को बडगाउँ सिँचाइ योजना र करेटा सिँचाइ योजना र दशरथचन्द नगरपालिका–४, घट्टीगाड खेतपाल सिँचाइ योजनाको कुलो काम नलाग्ने गरी निर्माण भएको सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । यस्ता कुलो ३० वटा रहेका र भुक्तानी दिन नेताको दबाब आइरहेको कार्यालयले जानकारी दिएको छ । (गोरखापत्रबाट)