सरकारले सार्वजनिक गर्‍यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च

काठमाडौं,  सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हाे ।

सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।