राप्ती नदीमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक

भालुवाङ,  दाङ देउखुरीको राप्ती नदीमा व्यापक रूपमा अवैध उत्खनन् कार्य अझै रोकिएको छैन । जिल्ला समन्वय समिती दाङको अनुगमन टोलीले समितिको चालु आर्थिक वर्षमा टेन्डर आह्वान मार्फत ठेक्का खोलिएका राप्ती नदि घाटहरुको अनुगमन गरेको छ । बिहीबार देउखुरी क्षेत्रको राप्ती नदी अनुगमन गर्दा ठेक्का परेको स्थानमा चार किल्ला प्रमाणित नभएको, नदिजन्य पदार्थ निकाल्दा मापदण्ड भन्दा अत्याधिक गहिराई रहेको पाईएको छ ।

दाङको सबै भन्दा धेरै देउखुरी क्षेत्रमा र त्यसपछि ग्वारखोलामा उत्खनन् भएको जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले बताएका छन् । देउखुरीका क्रसर उद्योगहरुको अनुगमन पनि भइरहेको भएपनि अवैध उत्खनन् नरोकिएको नेपालीले बताएका छन् । उनले अनुगमन पश्चात् संघीय सरकार,प्रदेश सरकार,अख्तियार र सम्बन्धित पालिकालाई जानकारी गराएको पनि बताए ।

देउखुरी क्षेत्रमा बिहिवार अनुगमन पछि बिकास निर्माणको नाममा राप्तीमा नदीजन्य दोहन व्यापक भए पछी असार १ गते देखि बिकासको काम बाहेक सबै उत्खननमा रोक लगाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा समग्र दाङ जिल्ला भरि नदिजन्य पदार्थ उत्खनन भरहेको छ ।अनुगमनमा नेपाली सहित उपप्रमुख श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी साबित्रा पुन थापा, सदस्यहरु जक्त बहादुर बस्नेत, देबीलाल थारु लगायतको सहभागीता रहेको थियोे ।