मधेस

कविता

जब मनपर्दैन भन्यौ,
मेरो नस्लिय रङ
तिम्रै रङमा रमाउन सिकें । 

जब मन पर्दैन भन्यौ
बाल्यकालमा यी ओठले चुमेको भाषा
तिम्रै व्याकरण घोकें ।

जब चित्त बुझेन भन्यौ
मेरा पूर्खादेखी
पहिरँदै आएको पहिरन
तिम्रै पहिरनमा सजिन सिकें ।

जब मन परेन भन्यौ
म गर्भमा हुँदै
आमाले गुनगुनाउने गरेको गीत
तिम्रै गीत गाउन सिकें ।

महाशय !
वर्षौ देखि दोसाँधमा छु
तर कहिल्यै
साँध बेचेको छुइन
बाढिले बगाएको बगरमा छु
तर कहिल्यै
नदि बेचेको छैन ।

चौरास्तामा उभिएका
हरेक अनुहारलाई
भानुभक्त देख्ने तिम्रो भ्रमले
देहरादुनमा देउडा गाइरहेका
हरेक ओठहरुलाई
नेपाली देख्ने तिम्रो मनोविज्ञानले
किन कहिल्यै मलाई
नेपाली मानेन ?

तिम्रो गीत गाउँदा गाउँदै
छुटेको छ आफ्नै लय
तिम्रो रङ्मा रङ्गिदा रङ्गिदै
बेरङ बनेको छ वर्तमान ।

महाशय !
तिम्रो मनोविज्ञामा
मन र ज्ञान नभेटिएपछि
म भन्न विवश छु

म फगत मधेस होइन
म एक देश हुँ !