कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी भएको प्रधानमन्त्रीको निष्कर्ष

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी रहेको निष्कर्ष निकालेका छन् । विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अरू देशमा कोरोना संक्रमणले महामारीको रूप लिँदा नेपालमा संक्रमितको न्यून रहेको भन्दै खुसी व्यक्त गरे ।

“ठूला, विकसित सबल राष्ट्रहरू प्रतिकूल ढंगले आक्रान्त छन्, हामीकहाँ असर पर्नु अस्वाभाविक होइन । हामीले सुरुदेखिनै प्रभावकारी ढंगले प्रयास थाल्यौं,” उनले भने ।

उनले कोरोना संक्रमण बाँध फुटेको जसरी आएको भन्दै केहीकेही प्रदेशमा व्यवस्थापकीय कमजोरी रहेको बताए । कुनै प्रदेशमा पीसीआर मेसिन जडान गरे पनि सञ्चालनमा समस्या रहेकोब बताए । तथापि, २१ ठाउँमा परीक्षण भइरहेको र केही नभएको अवस्थाबाट त्यहाँ पुगेको पनि बताए ।