दाङमा थप ६ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितकाे संख्या ८६
दाङ , दाङमा आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका ४ सवारीकोट स्थित आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका ९० जना मध्य ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २१, २३, २६, ३६, ३७ र ३२ बर्षका पुरुषहरुमा कोरोनाको संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ । उनीहरु भारतको मुम्बै, गोरखपुर र दिल्लीबाट आई क्वारेन्टाईनमा बसेका थिए । उनीहरुलाई नारायणपुर फनपार्कको आईसोलेशनमा लग्ने तयारी भएको घोराही उपमहानगर जनस्वास्थ्य शाखाले जनाएको छ ।
यो सँगै घोराही उपमहानगरले बनाएका क्वारेन्टाईनमा बसेका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ३ का एक जना कोरोना मुक्त भएर घर फर्किएका छन् । घोराहीका वडा नम्बर १, २, ३, ४, ५, ९, १०, १७, १८ र १९ वडामा भारतबाट आएकाहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
यसैविच घोराही १८ का एक जनाको भारतमा मृत्युभएको र शबलाई घोराही ल्याई स्वाब परिक्षण गर्दा कोरोना देखिएको छ भने अर्का घोराही ९ का एक जना काठमडौ रहेका व्यक्तिमा कोरोना देखिएको छ । घोराही उपमहानगरले अहिले सम्म १ हजार ६ सय २१ जनाको स्वाब संकलन गरेको छ भने एक हजार १० जनाको परिक्षण नतिजा आउन बाँकी छ ।
त्यसैगरी, ५ सय ३८ जनाको आरडिटी गरिएको र ६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।