अठोट

कविता

सपनाको हजारौं जंघार तरेर
आइपुगेथें तिमी समीप
र सुस्तरी तिम्रो सुकोमल आवाजलाई
चुमेथें फूल जस्तो ओंठले …

यो देशको झण्डा झैं उज्यालो शीरलाई थोरै झुकाएर
जोडेको मेरो दुई हातमा
कुनै धारिलो हतियार थिएन
तिम्रो सौन्दर्य जलाउने तेजाब थिएन
या तिमीलाई झुक्याएर खुवाउने बिषादी थिएन ।

बरु मुटुमा प्रेमको सुबासयुक्त आँधी थियो
आँखामा बिश्वासको गहिरो दह थियो
पाइतालामा भरोसाको तातो गति थियो
ओँठमा सँघर्षको पबित्र गीत थियो
शरिरका प्रत्येक नशामा समर्पणका तारा नदीहरू थिए
जब म उभिएँ तिम्रो समीप
हाम्रो समदुरिमा
सङ्गै फुलिरहेथ्यो फरक रङ्गको दुइटा फूल ।

जब हामी दुबैले एकैसाथ आँखा घुमायौं
सोही उचाईमा अग्लिएका थिए
ठिक हामी जस्तै दुई अचल पहाड
बतास चल्दै थियो मन्द-मन्द एउटै गतिमा
नदी बग्दै थियो कल-कल एकै लयमा
डुब्दै गरेको सूर्यको पहेंलो ऎनामा
बराबर टाँगिएका थिए
साझा रङ्ग , समान आकृतिका हाम्रा छाँया ।

तर अचानक
तिलस्मी जस्तो महाप्रलयले
तिम्रो पाइतालालाई सिमाना छुट्टयाएर
मेरो मात्रै पाउलाई खसाईदियो पहिरोमा
तिमी जमिनमा उभिन सफल भयौ
म पहिरो भित्र परें..

पहिरो भित्रबाट मुस्किलले फुत्किएका मेरो आवाज
पहरा पर्वतहरूमा ठोकिँदै टुक्रिँदै
जसोतसो तिमीसम्म पुगेर त्यहीँ बिलायो..
तिमीले माथीबाट हेरिरहयौ
मलाई पहिरोले तलतलै बगाउँदै मिसायो भेलमा
भेल भित्र मेरो रक्ताम्य क्रन्दन म सितै गुहार माग्दै-माग्दै त्यहीँ हरायो…

यसरी –
महान् तपस्याले प्राप्त गरेको मेरो अमर प्रेमको
भयो पलभरमै भयानक अन्त्य

जब मेरो प्रेमको बिभत्स हत्या भयो
लगातारको अनुसन्धान, अनुगमन पछि…
मुचुल्का, सर्जिमिन, बयान र कष्टकर बहसहरु पछि…
कानुन
सेतो, नयाँ झैँ देखिने तर मैलो पुरातन कागजमा
मेरै रगतले पून: लेख्न बसेको आज
“प्रेमको फरक रंग हुँदैन,
मानिसको फरक जात हुँदैन “
बेठागान भड्किएको अमर प्रेत-आत्मा म
अब ति खुनि हात काट्न चाहन्छु र तिनै कुरा
त्यो हातले होइन अब
हृदयले लेखाउन चाहन्छु ।