सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी , सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सोमबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट हेमराज पाण्डेयका अनुसार कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका सात र कैलाली एक जनामा कोरोना संक्रमण देखिएको छ ।
उनले कञ्चनपुरको पुनर्वास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष तथा शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिकाका आठ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक–एक पुरुषमा, डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको पाण्डेयले जानकारी दिए ।
अस्पतालले कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ ।