देउखुरीको राप्ती नदीमा ४ वटा स्काभेटरमा आगजनी
भालुवाङ, दाङ देउखुरी स्थित राप्ती नदीमा ४ वटा स्काभेटर माथि आगजनी भएको छ । गढवा गाउँपालिका वडा नम्बर-१ जेठान स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा आइतवार राती १२:३० बजेको समयमा अज्ञात व्यक्तिले आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिएका छन् ।
आगजनीबाट ४ करोड बढीको क्षति भएको कम्पनीका सञ्चालक बलबहादुर चपाईले जानकारी दिएका छन् । कालाकाटे-गढवा हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएको कम्पनी सँग विप्लवका कार्यकर्ताले चन्दा मागेको तर चन्दा नदिएकोले विप्लवले नै आगजनी गरेको हुन सक्ने सञ्चालक चपाईले जानकारी दिएका छन् । आगजनीको जिम्मा अहिले सम्म कसैले नलिएकाले आगजनी गर्ने व्यक्तिहरूको खोजी कार्य तथा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।