क्वारेन्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने समाचारप्रति गढवाको ध्यानाकर्षण
भालुवाङ, दाङको गढवा स्थित जनता माबिको क्वारेण्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल र युटुवमा गरिएको प्रचारको पछि नलागि सत्यतथ्य कुरा बुझेर मात्र सुचना प्रवाह गर्न गाउँपालिकाले सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ ।
गाउँपालिकाले उक्त चामल नेपाल खाद्य संस्थानले प्रमाणीकरण गरेर प्याकिङ गरेको जापानीज चामल भएको बताएको छ । प्रचारबाजी बाहिर आएपछि नागरिक समाज, प्रहरी प्रशासन र पत्रकार लागयतको टोलीले स्थलगत अध्ययन गर्दा सरकारको आधिकारिक निकाय खाद्य संस्थानले प्याकिङ गरेको पाइएको छ ।
यी चामल यस अघि पनि पहिलो लटमा राहात वितरण गरिएको र कतैबाट गुनासो नआएको गाउँपालिकाले जनाएको छ । चिसो भएपछि डल्लो पर्ने यो चामलको बिशेषता भएकोले यस्तो देखिएको हो ।
सोही क्वारेन्टाइनमा यस अघि बस्दै आएका धेरैले सोही चामल खादै आएको र त्यस्तो समस्या बिगतमा नदेखिएको बताएको छ । यसर्थ सामाजिक सन्जालमा यस्ता तथ्यहिन कुराहरु पोष्ट नगर्न आम नागरिक, सञ्चारकर्मीलाई आग्रह गर्नुका साथै जो कोही पनि भ्रममा नपर्न सबैमा गाउँपालिकाले आग्रह गरेको छ ।