रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय समिति गठन
काठमाडौं, रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सभामुख अग्नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् ।
बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय समिति नबनाइएको भन्दै समिति गठन नभए बैठक चल्न नदिने चेतावन दिएकी थिइन् । सोती घटनामा छानबिन गर्ने कुरामा संसदलाई विश्वास नभएको भन्दै उनले संसदबाटै सर्वदलीय संसदीय गठन गर्न माग गरेकी थिइन् ।
पोस्टमार्टमको रिपोर्टले ६ युवाको हत्या भएको देखिएको भन्दै रुकुम पश्चिममा भएको घटना सामूहिक ढंगबाट गरिएको नरसंहार भएको उनले बताइन् ।
घटनालाई प्रभावित बनाउने गरी गृहमन्त्री रामबहादुर थापा र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अभिव्यक्ति आएको भन्दै सचेतक भुसालले आपत्ति पनि जनाइन् । यो घटनामा मानवताविरुद्धकोअपराध भएको भन्दै अपराधीलाई राजनीतिक ढाकछोप आफूहरुलाई स्वीकार्य नभएको उनले बताइन् ।