टरिगाउँ एयरपोर्टमा बजेट पार्न दाङका सांसदहरुले मन्त्री भट्टराईलाई बुझाए पत्र

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ एयरपोर्टमा बजेट पार्नका लागि सांसदहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, कोमल वली, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, मेटमणि चौधरी, विष्णु पौडेल लगायत सांसदहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् ।


आगामी आर्थिक बर्ष २०७७ /०७८ को बजेट भाषणमा दाङको टरिगाउँ एयरपोर्टमा बजेट नपरेपछि आफुहरुले मन्त्रालयमै गएर उक्त एयरपोर्टमा बजेट पार्न ध्यानाकर्षण गराएको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले बताए ।‘ आगामी बर्षका लागि टरिगाउँ एयरपोर्टमा बजेट नपर्नु दुःखद हो, त्यसैले हामी मन्त्रालयमै गएर ध्यानाकर्षण गराएका हौं’ उनले भने‘ यस बर्ष नारायणपुर एयरपोर्टमा बजेट पर्नु हाम्रा लागि समस्या होईन्, तर टरिगाउँ एयरपोर्टमा बजेट नपर्नु दुःखद कुरा भएकाले हामी यसमा जोडतोडका साथ लागेका छौं ।’

नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु राम्रो कुरा भएको भन्दै उनले तुलसीपुर एयरपोर्टलाई पनि आन्तरिक उडानका लागि प्रभाबकारी बनाउनुपर्ने बताए । त्यसका लागि अहिले भएको धावनमार्गमा थप चारसय मिटर विस्तार गर्न सकियो भने ठूला जहाज बस्ने भन्दै यसका लागि बजेट छुट्याउन आफुहरुले मन्त्रीलाई ध्यानाकर्षण गराएको उनको भनाई छ ।

अपारले धावनमार्ग विस्तारका लागि २० करोड बजेट छुट्याएमा पुग्ने समेत बताए ।‘टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारका लागि निजि जग्गा लिन पर्दैन्, सरकारी जग्गा नै प्रशस्त छ’, उनले भने‘ त्यसैले जसरी पनि टरिगाउँ एयरपोर्टका लागि २० करोड बजेट पार्न म लगायत दाङबाट निर्वाचित अन्य सांसदहरु लागिपरेका छौं ।’

मन्त्रीले पनि उक्त एयरपोर्टमा बजेट हाल्न सकारात्मक देखिएको सांसद शर्माले बताए । उक्त ज्ञापन पत्रमा दाङका सांसदहरुको हस्ताक्षर समेत रहेको छ ।