विदेशबाट फर्किनेहरूलाई यी आठ होल्डिङ सेन्टरमा राखिंदै

काठमाडौं, सरकारले कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीलाई भोलि (शुक्रबार) बाट स्वदेश फर्काउने भएपछि उनीहरुलाई राख्नका लागि होल्डिङ सेन्टर धमाधम तयार भइरहेको छ । विदेशमा कोरोना संक्रमणका कारण समस्यामा परेका नेपाली नागरिकलाई विभिन्न आठ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था सरकारले गरेको छ । सरकारले भोलि दुवई र वर्माबाट २१० जना नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ ।

त्यसका लागि सरकारले सम्बन्धित देशसँग समन्वय गरिसकेको छ । स्वदेश भित्रिएका नेपालीलाई विमानस्थलबाट लगेर आफ्नो प्रदेशको जिम्मा लगाइन्जेल सुरक्षित रुपमा राख्नका लागि सरकारले होल्डिङ सेन्टरको अवधारण अगाडि सारेको हो ।

कुन प्रदेशलाई कहाँ

विदेशबाट आएकालाई विमानस्थलबाट नेपाली सेनाको संयोजनमा साझा यातायतमा होल्डिङ सेन्टरसम्म पुर्‍याइने छ । त्यसअघि उनीहरुलाई विमानस्थलको नयाँ भवनमा प्रदेशअनुसार छुट्टाछुट्टै राखिने छ । त्यहाँबाट प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं राखिने बताइएकाे छ ।

त्यस्तै  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरकाे होल्डिङ सेन्टरमा राखिने तयारी भइरहेको छ ।

उनीहरुलाई राख्नका लागि उपत्यकाका तीन जिल्लाका ८ वटा पार्टी प्यालेस तय भएका छन् । ती पार्टी प्यालेसको अनुगमन गरिसकिएको श्रम मन्त्रालयले जनाएको छ । प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको छ ।

वागमती, गण्डकी र प्रदेश नं ५ कालाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिने भएको छ । कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरमा राखिने भएका छ । उनीहरुलाई राख्नका लागि तीन वटा सेन्टर तय भएका छन् । ठाउँ साँगुरो भएकाले तीन ठाउँमा राख्न लागिएको हो ।

उनीहरुलाई धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राखिने भएको छ । होल्डिङ सेन्टरमा बसेपछि सम्बन्धित प्रदेशका फोकल पर्सनले उनीहरुलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला सदरमुकामसम्म पुग्नका लागि सहजीकरण गर्नेछन् ।

समन्वयका लागि मन्त्री संयोजक

सरकारले विदेशबाट आएका नागरिकलाई पालिकासम्म व्यवस्थापन गर्नका लागि प्रवेशगत रूपमा सङ्घीय मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले विदेशबाट फर्किनेको व्यवस्थापनका लागि पालिकासँग समन्वयमा व्यवस्थापन गर्ने जिम्मा तोकेको छ ।

सरकारले प्रदेश–१ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङलाई संयोजनको जिम्मेवारी दिएको छ भने प्रदेश–२ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव, बाग्मतीमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङ र गण्डकी प्रदेशको संयोजनको जिम्मा भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई दिएको छ ।

यस्तै प्रदेश–५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशका लागि उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्ने गरी सरकारले जिम्मेवारी तोकेको छ ।