प्रहरीलाइ अभद्र व्यवहार गर्ने वडाध्यक्षविरुद्ध मुद्दा

रुकुम पश्चिम, प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ ।

स्थानीयको सहयोगमा प्रहरी चौकीमै आक्रमण गरेको आरोपमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो । मंगलबार साँझ करिब ८ बजे प्रहरीले खाना खाइरहेको अवस्थामा वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी पोष्टमा तोडफोड गरी क्षति पुर्‍याएको थियो ।

उनीसहित २० देखि २५ जनाको युवा समूहले ढुंगामुढा गर्दै प्रहरी पोष्ट तोडफोड गरेका थिए । प्रहरीले वडाध्यक्षसहित राजन केसी, खिलराज गिरी र टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । नयाँ फौजदारी संहिताअनुसार अभद्र व्यवहारसम्बन्धी कसुर भनेको सार्वजनिक मुद्दा हो । कसूर पुष्टि भएमा १ वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय र क्षतिपूर्ति भराउने व्यवस्था छ ।