तरकारी,फलफूल ढुवानी र बिक्रीमा अवरोध गरे कारबाही हुने : गृह

काठमाडौं, नेपाल सरकारले तरकारी र फलफूललगायतका वस्तुको उत्पादन, संकलन, ढुवानी र बिक्री वितरणमा कुनै पनि प्रकारको अवरोध सिर्जन गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले बन्दाबन्दी जारी भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी फलफूल लगायतका कुनै पनि आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र बिक्रीवितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै अवरोध नभएको स्पष्ट पारेको छ।

गृहमन्त्रालयले कोरोनाको महामारीका बाबजुद पनि विगत केही दिनदेखि देशका विभिन्‍न स्थानमा स्थानीय प्रशासनसमेतबाट अति आवश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी गरेका सवारी साधनहरुको आवागमनमा बाधा पु¥याउने तथा एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरु खाल्डो खनेर पुर्नेजस्ता कार्यहरु भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता क्रियाकलाप नगर्न र गरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भैरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानून विपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जोकोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने व्यहोरा पनि जानकारी गराइन्छ ।

तसर्थ यस प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्तिरनिकायरसंघसंस्था सहभागी नभइदिनुहुन अनुरोध गरिन्छ । कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्‍न समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।’