जात, विभेद अनि जातीय विभेद !

जातीय विभेदको बारेमा अध्ययन गरिरहँदा सबै भन्दा पहिले जात के हो ? भन्ने कुरा बुझ्नु आवश्यक छ ।  त्यसपछि विभेदको बारेमा बुझ्नु पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । यी दुई शब्दको पूर्ण जानकारी बिना जातीय विभेदको विवेचना अधुरो हुन जान्छ।

जात शब्द आफै भने जन्मनुबाट निर्मित हो, भन्ने सत्यतालाई कसैले नकार्न सकेको देखिदैन ।  तर वर्तमान अवस्थामा जात शब्दलाई बुझ्नको लागि दुईवटा कोणबाट हेरियो भने सहज हुन्छ भन्ने मलाई लाग्छ । 

ती हुन् प्राकृतिक जात र राजनीतिक जात ।

प्राकृतिक जात भनेको हामी जस्तो रुपमा जन्मियौ या भनौँ सम्पूर्ण ब्रह्माण्डको सृष्टि सङ्गै विभिन्न जीवहरूको पनि अस्तित्व कायम भयो ।  त्यही लाखौं हजारौँ जीव मध्य एक हो मानव । मानत आफैमा जात हो अथवा होइन भन्ने कुरामा मानव जात पक्कै हैन।

पृथ्वीमा अस्तित्वमा रहेका र नरहेका तर उत्पत्ति भएका सबै प्रजाति मध्यको एक प्रजाति मानव हो त्यसैले यसलाई जात भन्न मिल्दैन। पृथ्वीमा रहेका सबै प्रजातिहरुले आफ्नो अस्तित्व कायम गर्न वंश विस्तार गर्दछन् र मानवले पनि त्यही प्रक्रिया गर्दछ। यो प्रक्रियाको लागि महिला र पुरुषको आवश्यकता पर्दछ। त्यही महिला र पुरुष नै साचो अर्थमा जात हो । प्राकृतिक रूपले हेर्यो भने जात भनेको महिला पुरुष मात्र हो ,यो दुई किसिमको हुन्छ।

मानव सभ्यताको विकास सङ्गै महादेश र देशको विकास हुँदै जान थाल्यो। प्राकृतिक स्रोतहरु निश्चित सिमानामा कैद भए । सीमित प्राकृति श्रोत असीमित मानिसको सङ्ख्या हुने आंकलन गरेपछि , आफ्नो निश्चित क्षेत्रफल भित्र आफ्नो वर्चस्व कायम गर्न स्रोत परिचालनको ठेक्का तत्कालीन अगुवाहरूले आफ्नो मात्र भएको दाबी गरे ।

आफ्नै बलजफ्ती कुराले समाजलाई सधैं लाद्न नसकिने कुरा तत्कालीन शासकलाई पनि थियो , त्यसैले विभिन्न काम गर्नेहरूलाई तोकेर नै श्रोतको पहुंच बाट टाढा गरियो । त्यहि काम गर्नेलाई बोलाउन काम सङ्गै मिल्ने नाम राख्न थालियो , त्यही नाम समय सङ्गै जात हुन पुग्यो । दमाहा बनाउने लाई दमाहि हुँदै दमाई भयो।

दमाहा बजाउने सबै दमाई भए, कुनै एक जनालाई बोलाउनु पर्दा उसको आवरण र भौतिक अवस्था हेरेर हेपेर बोलाइने गर्दथ्यो, त्यसैले अधिकांश दलितको पुर्खाहरुको नाम भौतिक आवरणमा आधारित हुन्छन् । यहाँ सम्म की नागरिकतामा के नाम छ भन्ने पनि थाहा नहुने अवस्था थियो र आज भोलि पनि समाजमा यो देख्न सकिन्छ।

सबै जात काम कै आधारमा चाई छैन, तर सतहमा जे देखाए पनि यथार्थमा जात बनेकै मानिस मानिस बीच भेदभाव सुरु गर्न र एक आपसमा सानो ठूलो बनाएर लडाउन बनाएको देखिन्छ। यसरी गरिएको विभाजन नै राजनैतिक जात हो ।

त्यहीँ कुरालाई संस्थागत गर्न जातव्यवस्था नै लागू भयो । जात व्यवस्था बिना कारण टिकिरहने छैन भन्ने सोचेर नै धर्मसँग जोडीदिए । विभिन्न जाति तथा जसले श्रम गर्न जानेका थिए , तिनीहरूलाई कहिले श्रोतसम्म पुग्न नै दिइएन फलस्वरूप उनीहरू सधैं आर्थिक अभाव मै पिल्सिरहनु पर्यो।

त्यसलाई पनि सत्ताधारीहरु, धर्मको गलत व्याख्या गर्नेहरूले पूर्वजन्मको श्राप भनेर व्याख्या गरिदिए । चरम यातना र शोषणमा परेको समुदायले स्वीकार्नु को विकल्प नै थिएन। उसले पनि आफ्नो नियतिको फल भनेर स्वीकार्दै गयो। यही सोच पुस्तान्तरण हुँदै जाँदा धर्म नै बन्यो समय समयमा विभिन्न शासकले यस्तो कुसंस्कारलाई लिखित पनि गरिदिए।

असमानता र भेदभावको विरुद्ध बोल्नु भनेको जात व्यवस्थाको विरुद्ध मात्र नभएर धर्मको विरुद्ध हो भनेर बुझिन थाल्यो। यथार्थ पनि के रह्यो भने जो राज्य सत्तामा शासक थियो त्यही नै धर्मको असली ठेकेदार । यसरी पीडितहरु कहिले सत्तामा पुग्न नसक्ने व्यवस्था अनुसार विभेदपूर्ण राजनीति सुरू भयो।

विभिन्न युगहरु पार गर्दै आजको युग सम्म आयो , आजको युग भन्नाले शिक्षित युग भनौँ । कहीं जयस्थिति मल्लले सुरु गरेको भनिन्छ त कहीं कतै द्रव्य शाहले, तर २५०० वर्ष पहिले शाक्य वंशको राजकुमार सिदार्थ गौतम पनि जातपातको कुराले पनि बुद्धत्वको खोजीमा निस्केको भन्ने गरेको देखिन्छ। तर जहिले देखि सुरु भए पनि यो यथार्थ के हो भने प्रकृतिको श्रोत आफूले मात्र उपयोग गर्नको लागि तत्कालीन अवस्थाको बलियो अहिलेको टोले गुण्डा जस्तोले गरिएको विभाजन नै हो।

मनुस्मृति लाई हेरियो भने पनि त्यही देखिन्छ, जहाँ चार वर्ण मध्यको सबै भन्दा उच्च मानिएको ब्राह्मणलाई श्रोत परिचालनको सबै अधिकार हुनुले सत्तालाई नै केन्द्रित गरेको छ। सबै वर्णलाई ठूलो देखि सानो क्रममा राख्दा बडो चातुर्यका साथ त्यसभित्रको जातलाई पनि त्यसरी नै राखेको देखिन्छ, जुन वर्ण या जातहरु स्वयं आफू कहिले मिल्न नसक्ने अवस्थाको सिर्जना गरिएको छ।

१९१०को मुलुकी ऐन हेर्दा पनि त्यही हो, जहानियाँ शासनको प्रवर्तक मानिएको जङ्ग बहादुर जस्तो क्रुर तानाशाहले जातीय तथा वर्गीय किसिमको विभेदको क्रान्तिकारी छलांग मारेको होला की भनेर खोज्नु , सायद समयको बर्बादी मात्र होला जस्तो लाग्छ। यद्दपि हामीले इतिहासलाई पल्टाउदै पर्छ।

यसरी विभिन्न कालखण्डलाई केलाएर हेर्दा आफ्नो व्यक्तिगत या समुदायको निहित स्वार्थ प्राप्तिको लागि कामको आधारमा विभाजन गरिएको भन्ने पुष्टि हुन्छ। कामको मात्र नभएर काम भित्र पनि सानो ठूलो काम भनेर भ्रम छर्नुले काम गर्ने बीच उच्च निचको भाव पैदा गरिदिएको देखिन्छ।

विभिन्न विद्वानहरुले भनेकाछन् की जात भनेको कामसँगै कामदारको पनि विभाजन हो। यो सत्य पनि हो। समग्रमा हेर्यो भने राज्यसत्तामा हुनेहरुले आफ्नो सत्ता टिकाई रहन , श्रम शोषण गरिरहन , विभाजनलाई स्थाइ रूप दिन र अन्य समुदायलाई सत्तासम्म पुग्न नदिनको लागि आपसमा लडाउन गरिएको जालसजिपूर्ण विभाजन नै जात हो।

‘भेद’ धातुमा ‘वि’ उपसर्ग थपिएर विभेद शब्द बनेको हो 

‘विभेद शब्दको अर्थ भेदभावपूर्ण व्यवहार गर्नु, भन्नु, लेख्नु र सोच्नु हो । सामान्यतः समान भनिएका मानिसहरु, वस्तुहरू तथा उस्तै देखिने कुनै पनि कुरामा प्रकट हुने पक्षपाती विचार, आफ्नो बिरानो सोच्ने विचार, काखा र पाखा गर्ने सोच र जसरी पनि फरक देखाउन खोज्ने मनोविज्ञान नै विभेद हो।

जबसम्म हाम्रो मानसपटलमा म वरिष्ठ, मेरो सबै भन्दा उत्कृष्ठ भन्ने चेतनालाई मेटाउन सक्दैनौ तबसम्म विभेदको कुनै न कुनै अंश समाजमा रहिरहन्छ । हाम्रो समाजमा विभेदले जरा गाडेको छ ।

समय र परिस्थिति अनुसार विभेद पनि फरक फरक रुपमा देखिन्छ । हाम्रो देशमा विभेद यति किसिमको छ भन्न सकिने अवस्था छैन। हरेक ठाउँमा विभेद छ, तर कति विभेद अहिले स्वीकार्य पनि भएको देखिन्छ भने कति मानवता विरोधी छन्। यद्दपि विभेद आफैमा भने गलत र दण्डनीय अपराधको रुपमा नेपालको संविधान र कानुनले स्पष्ट पारेको छ।

विभेदकै कारण ज्यान गुमाउनेको संख्या पनि कम छैन, तर पनि राज्यले त्यति चासो दिएको देखिदैन। किनकि हरेक विभेदको कारण ज्यान जाँदा न्यायको लागि आन्दोलन स्वरूप बन्द हडताल गर्नु पर्ने अवस्था चलिरहेको छ। जहिले पनि कुनै विभेदको घटना घट्दा आन्दोलन गर्नै पर्ने नियति बनी सकेको छ।

यसको स्पष्ट कारण भनेको की कार्यपालिकाको नियतमै खोट छ। कि उ सुतिरहेको छ, वा उ यति लाचार छ कि हतियार आफ्नो स्वविवेकले चलाउन सक्दैन। अन्यथा ऊ स्वयम् विभेदको सर्जक हो।

सबै विभेद दण्डनीय अपराध हुन त्यसमा कुनै फरक मत छैन तर यहाँ जातलाई विभेदसङ्ग जोडेर लेखिरहँदा, जातीय विभेद के हो र कसरी हुन्छ भन्ने कुरामा केन्द्रित हुँदा लेखले सार्थकता पाउला भन्ने लाग्छ । हामीले जातलाई दुई आधारमा बसेर हेरिरहँदा, पाकृतिक जातमा कुनै समस्या छैन किन भने यो व्यवहारमा छैन।

यति भनिरहँदा महिला पुरुषमा विभेद छ भन्ने लाग्न सक्छ, त्यहाँ पनि कारण छ। सबै कुरामा शोषण गर्ने राज्य सत्ताले आफूलाई मात्र सर्वगुण सम्पन्न देखाउन अरूलाई नै गलत देखाउनै पर्थ्यो र यो उसको चरित्र पनि हो। सबैलाई आफू भन्दा फरक र तल्लो अवस्थामा देख्ने राज्य सत्ताले आफ्नो घरमा पनि फरक देख्न थाल्यो।

इतिहास पल्टाउनु भयो भने राजा महाराजाहरुले धेरै रानीहरु राख्नु यसको सबै भन्दा ठूलो प्रमाण हो। ठूलो मान्छेले धेरै बिहे गर्न पाउनु र अनैतिक रुपमा सम्बन्ध कायम गर्नुले तत्काल राज्य सत्ताले महिला हरुलाई कसरी बुझेको थियो आफै कल्पना गर्नुहोला। यो कुरालाई पुष्टि गर्न मसँग धेरै शब्द छन् तर ती शब्द प्रयोग गर्नु सही हुँदैन , बरु पाठक ले आफ्नो स्वविवेक ले बुझ्नु नै सही हो भन्ने लाग्छ। तत्कालीन राज्य सत्ताले आफूलाई अप्ठ्यारो पार्ने कुनै पनि कुरालाई यसरी विभाजन गरिदिएको छ कि मानौं त्यो कहिले पनि जोडिदैन।

जुन अवशेष आज पनि देख्न सकिन्छ। राजनैतिक जात भित्र प्राकृतिक जातलाई पनि छिराएर अत्याचार गरेको छ। त्यो बेलाको राज्य सत्ताले आफूलाई अमर बनाउन सके जातिको प्रयास गरेको देखिन्छ, केही हद सम्म सफल मान्न पनि सकिन्छ किनकि अहिलेको समयमा पनि त्यही राज्य सत्ता विरासतमा छ।

काम , स्थानान्तरण र यस्तै विभिन्न कारणले जात निर्माण गरे पछि विभेदको बीउ रोपियो । त्यही भित्र पनि काम सानो र ठूलो भनेर फेरि अर्को बीउ सङ्गै रोपियो। सत्तामा हुने हरुको काम त्यसै पनि ठूलो हुने भयो किन कि त्यो काम सानो भयो भने अरूले उनीहरूलाई टेर्ने अवस्था रहने पनि थिएन।

त्यसैले सबै भन्दा ठूलो काम सत्तामा हुनेहरूको भयो, त्यही क्रममा सत्तामा जति पहुंच थियो त्यतिनै काम ठूलो हुने भयो। कामको प्रकृति हैन सत्ताको पहुंच सङ्ग जोडियो। यति भनिरहँदा ब्राहमण त सत्ता सञ्चालनमा थिएन कसरी सबै भन्दा ठूलो भयो भन्ने लाग्न सक्छ त्यसको कारण थियो तत्कालीन राज्य धर्ममा आधारित थियो , ब्राह्मण भगवानको १३ दिने गोत्यार नै भए पछि अघिल्लो स्थानमा नहुने कुरा नै भएन। अघिल्लो स्थानमा आफूलाई राख्न ब्राह्मणलाई त्यति सहज थिएन तर त्यहि कुरा बुझेर राजालाई विष्णुको अवतार भनियो । राजा स्वयं विष्णुको अवतार भए पछि भगवान नै भयो ।

राजालाई भगवानको दर्जा दिएर आफू मानिसभित्र सबै भन्दा ठूलो भएको र आफू भगवानको सच्चा पालक भएको घोषणा गर्दै गयो। आफ्नो सबै भनाइ भगवानको भनाइ भएको भनी दुष्प्रचार गर्यो । धर्मको आडमा अन्याय र अत्याचार थोपार्दै गयो । हामीले सोच्नु पर्ने कुरा के साच्चै राजा विष्णु कै अवतार हो त ? 

समय बित्दै गयो, राज्य सत्तामा त्यही विरासत पुस्तान्तरण हुँदै गयो भने समाजमा त्यही विभेदित नियम कानुन। आज सम्म आइपुग्दा त्यही विरासत छ, त्यही कानुन। कागजी रुपमा सबैलाई बराबर देखाउने संविधान बन्यो, कानुन बन्यो। तर व्यवहारमा आउन सकेको छैन किन भने राज्य सत्ता त्यही विरासत हो।

बरु हिजो सम्म अर्काको काधमा बन्दुक राखेर चलाउने ले आज गणतन्त्र आएपछि आफै चलाउन थालेको छ।त्यसैले आज फेरि पहिलेको जस्तै अत्याचार गर्न थालिएको छ। किन कि संविधान र कानुनले हामी सबैलाई एउटै भनेको छ  । यस्तो अवस्थामा राज्य सत्ता सङ्ग एउटा मात्र हतियार छ त्यो हो दमन जसरी पनि हामीलाई कायल पार्नु पर्छ भन्ने सोच उसमा विकसित भएको छ। त्यसैले उसले अहिले कुनै नियम कानुन हेर्दैन दमन मात्र गर्ने गर्छ।

उसलाई लागेको छ दमनले फेरि पहिलेको ठाउँमा फर्किन सकिन्छ। सर्वसत्तावादी लालचले राजालाई मार्न सघाउने ब्राह्मणवाद आज आफ्नो काधमा बन्दुक राख्न डराइरहेको छ, त्यसैले ऊ राजा फर्काउने कुरा पनि गर्छ ।

तर यति भनिरहँदा राजा सही भन्ने अभिप्राय हुँदै होइन, आफ्नो वरिपरि के छ भनेर नदेख्ने अन्धो राजा पनि कदापि सही थिएन । आफूलाई विष्णुको अवतार भनिदिदा अरूलाई मानिस नै नदेख्ने राजालाई किमार्थ सही मान्न सकिन्न।

कामलाई जात बनाइयो र जातलाई विभेद किन गरियो ? 

काम भन्ने बित्तिकै आम्दानीको श्रोत , र समग्र समाज विकासको पहिलो खुड्किलो हो। काम गर्ने लाई तल्लो स्थानमा राख्दा मानसिक रुपमा कमजोर बनाउन सकिन्छ । मानसिक रुपमा कमजोर जो कोही भौतिक रुपमा जति नै बलिष्ठ भए पनि त्यो बलको सही प्रयोग हुन सक्दैन भन्ने बुझाइ स्वरूप तल्लो स्थानमा राखियो । यदि यस्तो गरिँदैन थियो भने आज सबै भन्दा धनी तत्कालीन पेशाकर्मी नै हुने थिए। यो कुरालाई पनि बडो चलखि पूर्वक राज्यले काम गर्ने मानिसले जमीन राख्न नपाउने र नपर्ने खान लाउन आफै दिने भनेर फकाएको वा लादिएको देखियो।

सबै किसिमको विभेद कानुनी रुपमा दण्डनीय हुन भनेर कानुनले स्पष्ट व्याख्या गरेको छ। समाजमा घटेका विभिन्न विभेदको घटनालाई विभिन्न बहानामा गाउँ समुदायमा मिलाउन खोज्नुले सत्ताको नियत सहजै बुझ्न सकिन्छ । सामान्यतः कुनै पनि व्यक्तिको मौलिक हकलाई अर्को व्यक्तिले हनन गर्नु विभेद हो।  यदि त्यस्तो क्रियाकलापमा जातलाई नै आधार मानिएको छ भने त्यो जातीय विभेद हो।
समाजमा जातीय विभेदलाई एक ,दुई, तीन , भनेर गन्न सकिने अवस्था छैन। तर पनि राज्य सत्ता मौन छ। किन कि सत्ता पनि त्यही चाहन्छ जे समाजमा भइरहेको छ।

यसरी हेर्दा हामी सङ्ग दुईओटा मात्र बाटो देखिन्छ। प्राकृतिक जातलाई मान्ने हो भने सबै महिला पुरुषको जातमा सीमित हुनु पर्दछ।
राजनैतिक जातलाई मान्ने हो भने हामी जस्ता उपेक्षित, विभेदित, शोषित पीडित सबै समुदाय जो सधैं राज्यको पहुंच भन्दा धेरै टाढा रहेको छन् तिनीहरूले राज्यको सत्तामा पुग्नु पर्छ।