सोती हत्याकाण्ड : टाउको फुटेको अवस्थामा भेटियो बेपत्ता युवकको शव

जाजरकोट, गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव मंगलबार साँझ खोलामा फेला परेको छ। सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव भेरी नगरपालिका-१२ स्थित भेरी नदीको क्षेत्रमा फेला परेको हो।

उनको शव भेरी कपडाले टाउको बाँधेको, दाँत भाँचिएको र टाउको फुटेको अवस्था फेला परेको खोजतलासमा जुटेका छवि पन्तले जानकारी दिए। यसभन्दाअघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ।

रुकुमको चौरजहारी नगरपालिका-८, सोतीगाउँकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए। त्यसक्रममा बेपत्ता भएका सबै युवाहरुको शव नदीमा भेटिएको हो। यसअघि बेपत्तामध्ये जाजरकोटको छेडागाड नगरपालिका-१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव जेठ १५ मा फेला परेको थियो।

त्यसअघि बुधबार भेरी नगरपालिका-११ का २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। ६ जना मध्ये दुई जनाको शव घटनालगत्तै फेला परेको थियो। सबैभन्दा पहिले भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेकाशव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ।