कोरोना बिरामीले भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

दाङ ,  दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा काेराेना बिरामीले भरिएकाे छ । ५० जना राख्न सक्ने क्षमता रहेकाे उक्त अस्पतालमा अहिले ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सबैभन्दा धेरै दाङका ३३ जना, बर्दियाका ५ जना, बाँकेका ५ जना, कपिलवस्तुका २ जना, रुपन्देहीका ३ जना र रुकुमपूर्वका ३ जना गरी ५१ जना संक्रमित रहेको अस्पतालका व्यबस्थापक तथा हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिए ।

एकसय बेड भनिए पनि ५० जना राख्ने गरिन्छ । एकजना संक्रमितलाई दुईवटा बेड आबश्यक पर्ने वलीले बताए । उनका अनुसार एक जना संक्रमितको स्वाब परीक्षण गर्दा नेगेटिभ आएमा अर्को बेडमा सार्नु पर्ने हुन्छ । सोही अनुसार एकसय बेड भएको अस्पतालमा ५० जना मात्रै संक्रमित राख्न सकिन्छ । तर, अहिले बेलझुण्डीमा ५१ जना संक्रमित छन् ।

५१ जना भएपनि असहज भने नभएको उनले बताए । अहिले ५१ जनामध्ये दुईजनाको पहिलो चरणको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले अर्को बेडमा सारिएको र संक्रमितहरुलाई राख्ने बेडमा ४९ जनालाई राखिएको उनले बताए । अस्पतालबाट यस अघि ८ जनाको डिस्चार्ज भइसकेको छ । अहिले अस्पतालमा वाईफाईको समस्या रहेको छ । संक्रमितहरुले समेत वाइफाईको समस्या भएको गुनासो गर्ने गरेको वलीले बताए ।