क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४

भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। लमही नगरपालिकाका  ४० बर्षीय पुरूष र राप्ती गाउँपालिका निवासी ३६ वर्षीय अर्का पुरूष स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

‘लकडाउन भएपछि दुवै स्वास्थ्यकर्मी घर जानु भएको छैन् । उहाँहरुलाई यहीं क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको थियो’ गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले भने–‘थप उपचारको लागि कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगिएको छ ।’

यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका अन्य दुई जना व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । गढवा–६ निवासी ३६ बर्षिय र गढवा–७ निवासी २४ बर्षिय पुरुष व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

दुवै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्य रहेको जनाइएको छ । योसँगै जिल्लामा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको हो।

तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका दुईजना जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ । योसँगै दाङमा काेराेना संक्रमितहरुको संख्या ३४ पुगेको छ ।