असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको बताउँदै संघ, प्रदेश तथा स्थानीय तहलाई आगामी असार १ गतेबाट पढाई सुरु गर्न आह्वान गरेका हुन् ।

‘लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरिएको छ । यस सन्दर्भमा सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु’ जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको समेत स्पष्टीकरण दिएका छन् ।

‘बजेटको बुँदा नम्बर १६६ मा उल्लेखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका लागि गैर सरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग तथा योगदानलाई पुरक कार्यक्रमको रूपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहनेगरी कोष परिचालन गरिने छ’ उनले भनेका छन्।