रुकुम पश्चिमको घटनाको विरोधमा दाङमा अनसन

 दाङ  , रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा भएको घटनाको विरोधमा तुलसीपुरमा दलित अधिकारकर्मीहरु अनसनमा बसेका छन् ।जातिय विभेदकै कारण उक्त घटना घटेको भन्दै उनीहरुले दोषीलाई कडा कारवाही र पिडितलाई उचित न्यायकाे माग गर्दै राज्यलाई दबाव दिन आफूहरु एक घण्टा अनसनमा बसेको दलित अधिकारकर्मी जोगेन्द्र विश्वकर्माले बताएका छन् ।

 नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका विश्वकर्माले राज्यलाई दबाब दिनका लागी आफुहरु आन्दोलित हुनु परेको बताएका छन् । जातियताको आधारमा घटना हुनु अत्यन्तै दुखद कुरा भएको बताउदै अधिकारकर्मी विश्वकर्माले राज्यले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानुनी कठ्घरामा ल्याउनुपर्ने माग गरेका छन् ।

यस्तै अर्का दलित अधिकारकर्मी निर्मल नेपालीले अन्र्तजातिय प्रेम सम्वन्धकै कारण दलित समुदायका व्यक्तिहरुको निर्मम हत्या गर्नु जघन्य अपराध भएको बताउदै यसको लागी राज्य गम्भिर हुनुपर्ने बताएका छन् । ताकी आगामी दिनमा यस्तो घटना नदोहोरिन राज्यले कडा कारवाही गर्नुपर्ने उनको माग छ ।

तुलसीपुरको पिवि चोकमा शुक्रवार विहान ८ बजेदेखी ९ बजे सम्म अनसन सुरु गरिएको छ । साथै शुक्रवार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी समेत गरिएको छ । अनसनमा दलित अधिकारकर्मी, दलित जनप्रतिनिधि, लगाएतको सहभागिता रहेको थियो ।