गणतन्त्र दिवसका अवसरमा दाङ कारागारबाट १७ जना कैदीबन्दी छुटे
दाङ , १२ औँ गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरका २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायतको सजाय माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन । आधा सजाय भुक्तान गरीसकेका, चालचलन ,अनुसाशित जस्ता कैदीको कैद मिनाह गरिएको हो ।
यता दाङको दुई कारागारबाट १७ जनाको कैद मिनाहा भएको छ । कारागार कार्यालय घाेराहीका ७ जना र तुलसीपुर कारागारबाट १० कैदीको बाँकी कैद मिनाहा गरिएको छ । जसमा कारागार कार्यालय घोराहीबाट दाङका ५ जना र रुकुमका २ जना रहेका छन् । उनीहरु मध्ये ६ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्धामा कैद भैक्तानी गरीरहेका थिए ।
उनीहरुको बाँकी कैद मिनाहा भएको जेलर विष्णु पाण्डेले जानकारी दिएका छन् । त्यस्तै तुलसीपुरबाट दाङका ४ जना, बाँकेका तीन जना, रुपेन्देहीका २ जना र प्युठानका १ जना गरी १० जनाको बाँकी कैद मिनाहा गरिएको जेलर शाखा अधिकृत युवराज परिवारले जानकारी दिएका छन् । कैद मिनाहा हुनेमा ज्यान मुद्धा, डाँका चोरी, हातहतियार खरखजना, सवारी ज्यान, आगो लगाएको र चोरी मुद्धाको सजाय भुक्तानी गरीरहेका थिए ।
गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भई १३ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले यो दिवस अनौचारिक रुपमा मनाएका छन् । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।