लघुकथा : अभियन्ता

एकदिन रत्नपार्कको पुरानो बस पार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो ।

“ आफ्नो टोल , नगर सफा राखौं ” भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुमपान , मद्यपानलाइ निरुत्साहित गर्नु , सर सफाईको महत्वलाइ जनस्तरमा पुर्याएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो ।

उनीहरु पुरानो बस पार्क , रत्नपार्क , जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहर मैला टिप्दै, प्लेकार्ड देखाउंदै , फोटो खिच्दै हिंडिरहेका थिए । टोली त्रिचन्द्र कलेजअगाडि पुगेर अडियो ।

हात हातमा बोकेका प्लेकार्ड भुँईमा राखेर उनीहरुले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले । अनि कसैले बिदेशी मदिरा गिलासमा खन्याएर , कसैले बोतलबाटै पिउन थाले ।

हल्का बिश्रामपछि उनीहरु अगाडि बढे ।

उनीहरुले खाएर फालेका बिस्कुट, चाउचाउका खोल, पानी र मदिराका खालि बोतलहरु भने सडकभरि जताततै छरिएका थिए ।
उनीहरु अचेल सरसफाइका अभियन्ता भनेर चिनिन्छन् ।

बागमती – ११, कर्मैया , सर्लाही