दाङ लमहीका आठैजना संक्रमित भारतबाट आएका थिए

देउखुरी, दाङ-देउखुरीकाे लमही नगरपालिकाका आठै जना काेराेना संक्रमित भारतबाट आएकाे लमही नगरपालिकाले जनाएकाे छ । आज बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परिक्षणबाट एकै पटक एक महिला सहित आठ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

लमही नगरपालिका वडा नम्बर ५ स्थित रहेको नेत्रलाल अभागी स्मृती प्रतिष्ठानमा ती संक्रमितहरु यहि जेठ ९ र १० गते आएका थिए । जसमध्ये लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय, वडा नं. २ का ३० वर्षीय र १७ वर्षीय युवक पनि भारतको हैदरावादबाट जेष्ठ २ गते राति ८ बजे कपिलबस्तुको कृष्णनगर हुँदै एम्बुलेन्स मार्फत लमही क्वारेन्टाईनमा आएका थिए ।

त्यस्तै लमही नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक भारतको उत्तर प्रदेश र सोही वडाका २० वर्षीया महिला भारतको दार्जिलिङबाट, वडा नम्बर ४ का २६ वर्षीय युवक भारतकोराजस्थानबाट, वडा नं. ६ का १८ वर्षीय युवक भारतको पञ्जाब बाट, वडा नं. ८ का २३ वर्षीय युवक भारतको दिल्लीबाट जेठ १० गते बेलुका ६ बजे लमही क्वारेटाइममा आएका थिए ।

जस मध्ये २० वर्षीया महिला ल्याब पढ्नका लागि भारतको दार्जिलिङ गएकी थिइन् । दार्जिलिङको सिलगुडी, झापा हुँदै धरानसम्म आएको बुझिएको छ । धरानमा आइसकेपछि त्यहाँ ती महिला सहित अन्य मानिसहरुले दाङ आउनका लागि एक बस रिजर्भ समेत गरेका थिए । उक्त बसमा दाङको भालुवाङ, घोराही र तुलसीपुरसम्म पुग्ने मानिस सवार भएका थिए । ती महिला दाङको लमही आइसकेपछि नगरपालिकाको सम्पर्कमा आएर सिधै क्वारेन्टिनमा गएको लमही नगरपालिकाले जानकारी दिएको छ ।

भारतबाट आएका अन्य व्यक्तिहरु पनि भारतबाट नेपाल फर्किदा एम्बुलेन्स बाटै क्वारन्टिनमा आएको लमही नगरपालिकाले बताएको छ । उनीहरुको ट्राभल हिस्ट्रीका बारेमा खोजबिन शुरु गरिएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिए । संक्रमित आएको एक वटा बस प्युठान, अर्को पिकअप नेपालगन्ज र अर्को दाङको तुलसीपुर गएको बताईएको छ ।

लमही नगरपालिका भित्र अहिले वडा नम्बर १ को नर्ती स्थित सुर्यविनायक माध्यमिक बिद्यालय र वडा नं. ८ स्थित राप्ती माध्यामिक बिद्यालय उच्चानिम्बु गरी दुई वटा सामुदायिक बिद्यालय र एक वटा प्रतिष्ठानको गरी तीन वटा स्थानमा क्वारेन्टिनमा राखिएको छ । ती क्वारेनटाइममा एकसय बढी व्यक्तिहरु बसेका छन् ।

कोरोना संक्रमित भेटिए पछि अहिले लमहीको क्वारेन्टिन सिल गरिएको छ । अब यस क्वारेन्टिनमा अन्य मान्छे नराखिने भएको छ । अब यस क्वारेन्टिनलाई आइसोलेसन बनाउने तयारी गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । अब कोरोना संक्रमितको संख्या बढे सङ्गै थप क्वारेन्टाइनको ब्यवस्थापन गर्न लागेको प्रमुख केसीले बताए ।