आमा बेच्ने सन्तान

सन्तानको पीरमा रुदै गर्दा मेरीआमा,
सन्तानहरू;
डलर र भारू काका बाउको निर्देशित गीतमा,
युरो र मक्कामदिना डम्फु र मादले तालमा नाच्छन अचेल,
पाएकालाई भारू मादल छोड्न गाह्रो रे !
नपाएकालाई युरो गीतमा नाच्न आतुर रे,
कठैबरा! आमा तिम्रा अगतिला सन्तान,
बुढेसकालमा बृद्धाश्रम पठाउने मात्र तिम्रा छोराले,
अचेल सौतेली भारु र युरो बाउ खोज्दिने गर्दैछन्,
तिम्रो दुग्धशालाले बचाएका तिम्रा सन्तान,
पराधिन र परतन्त्रे ती तिम्रो ठेक्का लिएका सन्तानले,
स्वाधिन नावालक सन्तानलाई युरोको चास्निमा डुबाउदै,
सीता,जनक र बुद्धलाई भारु सटही काउन्टरमा भजाउन,
माइक र स्पिकरमा तिम्रा सन्तानले अलापेका,
नक्कली गोहिको आँसु हेरेर, चुप बस्छेऊ, कतिन्जेल?
मन बेचेका तिम्रा सन्तानको तन देखेर मख्ख तिमी!
युरो, भारु र डलरले क्यान्सर बनाएको तिम्रो सन्तान,
केमोले निको नहुने देखेर रुनुभन्दाअप्रेशन गर्ने साहस गर,
काका बाउ खोज्ने तिम्रा सन्तानले आमाको खरिदबिक्री गर्दा,
झरेका विवश तिम्रा आशु चिरिएका तिम्रा छाती,
बचेका तिम्रा सुन्दर कलेजो र किड्नी पनि,
डलर,भारु र युरे गिद्धले मोलमोलाई गर्ने छन्,
अनि ठेकेदार सन्तान ,युरो र भारुले ह्विस्किमा लठ्ठेर,
आमा बेचेको खुशियाली उत्सव देख्दा,
तिम्रो चित्कारी धुन बायुमन्डलमा विलीन हुँदा,
बचेकुचेका तिम्रा सन्तान, अलौकिक कृया बस्दा,
आफू नफर्किने गरि बेचिएकी थाहापाउनु अगाडि,
हप्काऊ, दप्काऊ लाठी बजाऊ ती ठेकेदार सन्तानलाई।