‘यो आँगन मेरो हो’

कविता

ए पल्लाघरे ठुल्दाइ !
पोहोर मेरा बा स्वर्गवास भएपछि
मेरा आँगनका छेउको
पिपल मेरो हो भन्यौ
र भन्यौ पिपलका छेउको
वर पनि ।
अब भन
मेरा बाको
धनीपुर्जामा रहेको आँगन
तिम्रो पर्छ कि मेरो?
तिमी बारम्बार भन्छौ
मेरा बाले तिम्रो ऋण
नतिर्नु भएको कुरा ,
अनपढ मेरा बामाथि षड्यन्त्र गरेर
छाप लगाइएको
किर्ते तमसुक देखाउँदै
तिमी भन्छौ
ऋण साउँको ब्याज
ब्याजको स्याज
भइसकेको छ
देखाऊ सक्कल तमसुक
म तिर्छु
साउँको ब्याज तिर्छु
ब्याजको स्याज तिर्छु
नत्र
तिम्रो कठालामा समातेर
कानुनको कठघरामा
उभ्याउने छु र
खोल्नेछु तिम्रा आडम्बरी इज्जतका वस्त्रहरु
अनि सबैले देख्नेछ्न
बेइमानी र ज्यादतीकाे नग्नता !

तिमीले मेरो सिकुवामा टेकेर
आधा आँगन मेरो हो भन्यौ
र भन्यौ आँगनका छेउको
धारो पनि
हिजो मेरा बाले
जल चढाउने गरेको
तुलसाको मठ
मेरो हो भन्नुभन्दा
पहिला देखाउनेछौँ
यो घरमा बस्ने तीन करोड सदस्यले
शोषणका विरुद्ध
आफ्नो कालाग्नि रूप
जबसम्म आकाशमा
घाम उदाइरहन्छ
र रहन्छ यो शरीरमा रातो रगत
तबसम्म
यो घर मेरो हो
यो आँगन मेरो हो।

तेह्रथुम