सोती हत्याकाण्ड : चार दिनपछि भेटियो लोकेन्द्र सुनारको लास

जाजरकाेट, चार दिनदेखि भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुनारको लास फेला पारेका हुन् ।

भेरी नगरपालिका–१३ कुदु स्थित मध्यपहाडी लोकमार्गको बनिरहेको पुल नजिकै भेरी नदीमा लोकेन्द्रको लास फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

लोकेन्द्रको लास फेला परेपछि सोती घटनामा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । यस अघिनै भेरी नगरपालिका–४ का नवराज विक, गणेश वुढा र रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का टीकाराम विक मृत अबस्थामा फेला परिसकेका थिए ।

भेरी नगरपालिका–४ का सन्जु विक, ११ का गोविन्द शाहीको भने, खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।