जाजरकोटमा फार्मेसीदेखि सिभिल इन्जिनियरिङसम्म भर्ना अवसर, अब दुई दिन मात्र बाँकी
जाजरकोट । नेपाल सरकारअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी अन्तर्गत जाजरकोट बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८३/०८४ का लागि प्राविधिक कार्यक्रमतर्फ नयाँ भर्ना खुला गरिएको छ ।

शिक्षालयले भेरी नगरपालिका–५, काफलचौरस्थित आंगिक इकाइमार्फत डिप्लोमा तहका फार्मेसी, सिभिल इन्जिनियरिङ र पशु विज्ञान विषयमा अध्ययनका लागि भर्ना प्रक्रिया सञ्चालन गरेको हो ।
शिक्षालयका प्रमुख इश्वरी देवकोटाले जानकारी दिँदै सीमित सिट भएकाले समयमै आवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।
उनका अनुसार फार्मेसीतर्फ ४० सिट, सिभिल इन्जिनियरिङतर्फ ४८ सिट र पशु विज्ञानतर्फ ४० सिट निर्धारण गरिएको छ । फार्मेसीका लागि करिब ५० हजार रुपैयाँ, सिभिल इन्जिनियरिङका लागि ३६ हजार रुपैयाँ र पशु विज्ञानका लागि ३५ हजार रुपैयाँ शुल्क तोकिएको छ । सबै कार्यक्रमका लागि २ हजार रुपैयाँ धरौटी शुल्क रहने व्यवस्था गरिएको छ ।
अनलाइन आवेदनका लागि itms.ctevt.org.np मार्फत फारम भर्न सकिने व्यवस्था गरिएको छ । थप जानकारीका लागि ९८५८०८००७३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।


