समाजले केटाको जिम्मा लगाएको केही घन्टामै जसको शव भेटियो

काठमाडौं, गत जेठ ९ गते राति रुपन्देही देवदहकी १५ वर्षीया दलित थरकी किशोरीलाई सोही ठाउँका २२ वर्षीय वीरेन्द्र भरसँग घरनजिकै रहेको एकान्त ठाउँमा एकसाथ स्थानीयले देखे। एकान्त ठाउँमा एकसाथ भेटिएको भन्दै भोलिपल्ट जेठ १० गते वडा नं ११ का वडाअध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाको छलफल भयो।

छलफलमा वीरेन्द्रलाई कारबाही गर्नुको सट्टा किशोरीलाई उल्टो लज्जित बनाए। कथित तल्लो जातकी पासी परिवारलाई समाजका अगुवा भन्नेहरुले बोल्न दिएनन्। किशोरीका परिवारले छोरीको विचल्ली हुने भन्दै केटालाई छुट दिन नहुने बताएपछि वडाध्यक्षसमेत संलग्न उक्त छलफलले किशोरीलाई केटाको जिम्मा लगाउने निर्णय ग¥यो। कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका आमा जाई लागिन। त्यसको केही घन्टामै किशोरीको खोला किनारमा शव भेट्टियो।

‘छोरीलाई जबरजस्ती समाजले उपल्लो जातको केटासँग पठाइदिए, आज मेरी छोरीको हत्या भयो,’ किशोरीकी आमा शान्तिले भनिन्। शनिबार दिउँसो देवदह–२ पेटवनिया रोहिणी खोला किनार रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए।

शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ। घटनाको प्रकृति र छोरीमाथि गरिएको दुव्र्यहारले आत्महत्या नभई हत्या भएको आमा शान्तिको जिकिर छ। नागरिक दैनिकबाट