उसको विरुद्धमा म

कविता

उसको कमजोरी बारे,
मलाई आभास हुँदा
मलाई उ मौन बस्न
संकेत गरिरहेको हुन्छ,
उसको संकेत म नबुझेझै
म चिच्याउने गर्छु उसको
गल्ती विरुद्ध , सायद
मलाई लाग्छ, सायद
मलाई लाग्छ, उसको
गल्तीको सजाय,
उसले र मैले मात्रै होईन,
हाम्री आमाले पनि
भोग्नुपर्नेछ, सहनुपर्ने छ
छिमेकीहरुको दासत्व
त्यसैले म बोल्ने गर्छु,
ताकी उसलाई गल्ती गर्नबाट
मैले रोक्न सकुँ !

उ बुझ्दैन यो,
थाहा छैन कि मैले
मैले पो उसलाई बुझाउन
सकिरहेको छैन
तर पनि उसले,
मलाई बुझ्नुपर्छ
मेरा शब्दहरू बुझ्नुपर्छ
म उसको विरुद्धमा,
पटक्कै उभिएको छैन
उभिएको छु त केवल,
उसका गल्ती र कमजोरीहरुको
विरुद्धमा म उभिएको छु ।

यति बोल्दै गर्दा,
उसले मलाई
परिवारको सदस्य मान्न
इन्कार गर्न खोज्छ,
मेरि आमाको ममता
खोस्न खोज्छ,
उसको गल्ती नै यहीँ हो
मलाई उ विभेद गर्छ
उ मलाई आफ्नो ठान्दैन तर
तर म उसलाई आफ्नै ठान्छु,
आफ्नै ठानेको छु ,
फेरि उसको गल्ती औल्याउँछु
किनकि ,
किनकि उसको गल्तिको सजाय,
मेरी नेपाल आमाले भोग्नै नपरोस् ।